Share this News on Social Networking Pages

काठमाण्डाै,२१ जेठ ।
नागरिकता अध्यादेश विरुद्ध परेका मुद्दाको सुनुवाइ आज हेर्दाहेर्दैमा सकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासमा आज केही बेर भएको सुनुवाइपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ २७ गते हुने सर्वोच्च अदालतले जनाएको छ ।

नागरिकता अध्यादेशको विरुद्धमा परेका मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रिटको सुनुवाइका लागि वरिष्ठताका आधारमा आफूसहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गरेका छन् ।

वरिष्ठताक्रममा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोना संक्रमणका कारण उपस्थित हुन नसक्ने भएपछि ईश्वरप्रसाद खतिवडालाई राखिएको छ ।

प्रतिनिधि सभा विघटन बिरूद्वको परेको रिटकाे सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासमा विवाद भएपछि अध्यादेशविरुद्धको मुद्दामा भने प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा न्यायाधीश छानेर इजलास गठन गरेका हुन् ।

सरकारको सिफारिसमा यहीँ जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि त्यसको विरोधमा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, बालकृष्ण न्याैपाने लगायतले रिट दायर गरेका थिए ।