बुटवल,२१ जेठ । नियम बिपरित नदीजन्य पदार्थ दोहनमा संलग्न रहेको आराेपमा
रुपन्देही प्रहरीले करिब दुई दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको तिनाउ, दानव, रोहिणी लगायतका नदीहरुबाट ठेकेदारले जथाभावी रूपमा नदिजन्य पदार्थ दोहन गरिरहेकाे भन्ने सुचनाकाे आधारमा नदि किनारबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नदी दोहनमा संलग्नलाई कारबाही नगरी प्रहरी प्रशासनबाटै संरक्षण भएको ब्यापक गुनासो आएपछि रुपन्देही प्रहरीले बिहीबार १४ वटा टिपर र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

रूपन्देहीको तिनाउ,दानव लगायतका नदिहरूबाट नियमविपरीत नदिजन्य पदार्थ दोहन भएको सूचनाका आधारमा जिल्लाका विभिन्न युनिटबाट खटिएका प्रहरी टोलीले घटनास्थलबाट सवारीसाधन नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

नियन्त्रणमा लिइएका टिपरमा लु२ख २६७०, लु२ख २६०८, बाग्मती प्रदेश ०२–०३–००१ ख ३३४८, ना२ख १९३४, लु२ख १९३४, लु२क २०८७, प्र०२–०३–०११ख ३३६७, ना८ख ८२७२, ना६ख २२७०, बागमती प्र०३–००१ख ०१८२, लु२ख ५२२८, लु२ख २११६, लु२ख ५२२९ र ना२ख १२९८ छन् । यस्तै, लु२त ५७३६, लु३त ५६६, लु३त ११५४, लु४त ३४२० र लु४त ७२२३ नम्बरको ट्याक्टर रहेका छन् ।

प्रहरीले तिलोत्तमा नगरपालिका–३ मगरघाट र बुटवल उपमहानगरपालिका–१७ पथ्थरगञ्जस्थित तिनाउ नदीमा अवैधरुपमा बालुवा–गिट्टी ओसारी रहेको बेला टिपर र ट्याक्टर नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवक्ता थापाले बताए ।

थापाका अनुसार इलाका प्रहरी कार्यालय बुटवल, रन्यौरापुर, ओमसतिया, वडा प्रहरी कार्यालय बुटवल र प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले एकैपल्ट नदीजन्य पदार्थ उत्खननमा संलग्न यति धेरै टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सबै टिपर र ट्याक्टरलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिमा पठाइएको डीएसपी थापाले बताए ।

काेराेना महामारी नियन्त्रणका लागि जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामा स्थानीय तहकै केही पदाधिकारी तथा कर्मचारीकाे मिलेमतोमा ठेकेदारले जथाभावी रूपमा नदीजन्य पदार्थको दोहन गरिरहेकाे सम्बन्धित ठाउका स्थानीयकाे दाबी छ ।

रुपन्देहीका नदीनालामा लगाइएका अधिकांश ठेक्काका ठेकेदार राजनीतिक दलका नेता तथा कार्यकर्ता रहेकोे र राजनीतिक संरक्षणकै कारण उनिहरूले रुपन्देहीमा वर्षौंदेखि नदी दोहन गरिरहेकाे जनगुनासाे छ । प्रहरीले सवारी नियन्त्रणमा लिए पनि राजनीतिक पहुँचका आधारमा न्यून जरिवाना तिरेर सहजै छुट्ने गरेकाे कारण अबैध रूपमा नदिजन्य पदार्थको उत्खनन राेकिन नसकेको जानकारहरू बताउँछन् ।