Share this News on Social Networking Pages

बुटवल,१७ जेठ । मतदानको अघिल्लो दिन राष्ट्रियसभा उपनिर्वाचनकाे मतदाता नामावली सच्याइएको भन्दै लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलले आपत्ति जनाएका छन् ।

निर्वाचन आयोगद्वारा यसअघि प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश नभएका प्रदेशसभा सदस्यका रुपमा जसपाका सन्तोष पान्डेय, विजय बहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई राष्ट्रियसभा उपनिर्वाचनका लागि निर्वाचनको अघिल्लो दिनमा मतदाता कायम गरेको भन्दै दलहरुले आपत्ति जनाएका हुन् ।

पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा यी चारैजनालाई जसपा नेपालले सांसद पद नरहने गरी कारवाही गरेको थियो ।
प्रदेशसभा सचिवालयले उनीहरुको सांसद पद खारेज गरेकाे पत्र निर्वाचन आयाेगलाई पठाएपछि आयोगले उनीहरुको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरेको थिएन । तर उनीहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमा उनिहरूमाथिकाे कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेशपत्र प्राप्त हुँदा निर्वाचन कार्यतालिका अनुसार मतदाताको अन्तिम नामावली प्रकाशित भइसकेको अवस्थामा ती चारजनालाई मतदाता नामावलीमा सामेल गर्न नमिल्ने विपक्षी दलहरुको तर्क छ ।

प्रदेशसभामा गठबन्धन बनाएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारका चार प्रदेश सभा सदस्यलाई मतदानको अघिल्लो दिन मतदाता नामावलीमा समावेश गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘निर्वाचन आयोगले मतदाता नामावलीको दावी विरोध कार्यक्रमको प्रक्रियामा सहभागी नभएका र अन्तिम मतदाता नामावलीमा नाम समावेश नभएकालाई मतदाता कायम गर्ने एकपक्षीय निर्णय गरी आदेश गर्नु निर्वाचन आचारसंहिता र निर्वाचन प्रणालीको आममान्यता विपरीतको कदम हो,’ संयुक्त विज्ञप्तिमा भनिएकाे छ । यस्तो कदमले संवैधानिक अंगको विश्वसनीयतामा समेत प्रश्न चिह्न खडा गरेको चारदलकाे निष्कर्ष छ ।

निर्वाचन आयोगले जसपाबाट प्रदेश सरकारमा सामेल चार मन्त्रीलाई आइतबारको निर्णयबाट राष्ट्रियसभा उपनिर्वाचनमा मतदाता कायम गरेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन हुने दिन नै सर्वोच्च अदालतले ती चार प्रदेश सभा सदस्यमाथिको कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे पनि मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको भन्दै निर्वाचन कार्यालयले उनीहरुको नाम मतदाता नामावलीमा सामेल गरेको थिएन ।

चार दलद्वारा प्रकाशित संयुक्त विज्ञप्तिमा प्रदेशसभामा नेपाली काँग्रेसका संसदीय दलका नेता विरेन्द्र कानाेडिया, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका प्रमुख सचेतक पूर्मती ढेङ्गा मगर र राष्ट्रिय जनमोर्चाका तारा जिसीले हस्ताक्षर गरेका छन् ।

जसपा नेपालद्वारा प्रदेश सभा सदस्य समेत नरहने गरि कारबाही गरेका चारै जना हाल मन्त्री रहेका छन् ।

सरकारकाे दबाबमा उनिहरूलाई निर्वाचन आयाेगले नियम बिपरित मतदाता नामावलीमा नाम समावेश गरेको विपक्षी दलहरूकाे आाराेप छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको रिक्त एक पदका लागि आज मतदान हुँदैछ ।