काठमाडौं,१६ जेठ । राष्ट्रिय जनमोर्चाले सरकारले शनिबार सार्वजनिक गरेको बजेट
बजेट असंवैधानिक र अप्रजातान्त्रिक भएको जनाएको छ ।
संसद विघटन गरेर निर्वाचन तोकिसकेको सरकारले पूर्ण बजेट ल्याउनु असंवैधानिक र अप्रजातान्त्रिक भएको राष्ट्रिय जनमोर्चाकाे ठहर छ ।
यसरी बजेट ल्याउनुलाई सरकारको स्वेच्छाचारी शैली भन्दै राष्ट्रिय जनमोर्चाले यसले गणतन्त्र, संविधान, कानुन, प्रजातान्त्रिक विधि र प्रक्रियाको उपहास गरेको टिप्पणी गरेको छ ।
‘चुनाव गराउने भनेर तिथिमिति समेत तोकिसकेको सरकारले पूर्ण बजेट पेस गर्नु भनेको आफ्नो पक्षमा चुनावी आधार तयार पार्नु हो । त्यो राज्यको सम्पत्तिको दुरुपयोग हो । त्यस प्रकारको कार्य संविधान र कानुनको विरुद्ध छ । त्यसैले त्यो असंवैधानिक पनि हो’ अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यो बजेटबाट आफ्नो प्रतिगमनकारी कदमलाई सही सिद्ध गर्ने र उनको चुनावी आधार बलियो बनाउने उद्देश्य लिएको केसीले टिप्पणी गरे ।
अहिले प्रधानमन्त्री ओलीको कार्यशैली र कार्यविधि नै देशको राजनीतिमा समस्या पैदा गराउने प्रवृत्ति बनेको भन्दै अध्यक्ष केसीले यसले जनआन्दोलन र जनसंघर्षले स्थापना गरेका मूल्य र उपलब्धिमाथि समेत गम्भीर संकट पैदा गराएको बताए ।