बुटवल, १४ जेठ । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ ।
बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भैरहवा स्थित भिम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको साे पार्टीले जनाएको छ।
शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी रहने कार्यक्रम संयोजक एवं पार्टीका जिल्ला उपाध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए । निषेधाज्ञाका कारण होटेलहरु र यातायात सेवा समेत बन्द हुँदा अस्पताल भर्ना भएका विरामी तथा उपचारमा खटिने डाक्टर–नर्सलाई खाना र खाजा खान समस्या भएकाले अभियान चलाइएको उनलेे बताए ।
पार्टी नेता कार्यकर्ताबाट करिब दुई लाख रुपैयाँ संकलन गरेर एक हप्ताका लागि खाना तथा खाजा अभियान सञ्चालन गरिएको जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले जानकारी दिए ।
मंगलापुरस्थित पार्टी कार्यालयमा तयार गरी प्याकेटमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै अस्पतालमा वितरण गरिने उनले बताए ।
सरकारी निकाय गैर जिम्मेवार बनेको अवस्थामा उपचारमा रहेका संक्रमित र स्वास्थ्यकर्मीलाई सहज र प्रोत्साहन होस् भनेर सामाजिक उत्तरदायित्व वहन गरी खाना तथा खाजाकाे व्यवस्था गरिएको पार्टीका जिल्ला अध्यक्ष प्रेम थापाले बताए ।