काठमाडौँ,८ जेठ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा विघटनको विषयमा संविधानविद् र विभिन्न राजनीतिक नेतृत्वसँग छलफल र परामर्शका जुटेकाछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्येराति प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुख सापकोटा परामर्शमा जुटेका हुन् ।
सभामुख सापकोटा शनिबार बिहानैदेखि संविधान तथा कानुनका जानकारहरू र बििभन्न राजनीतिक दलका नेतृत्वसँग छलफल र परामर्शमा रहेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
‘प्रतिनिधिसभा विघटनको विषयमा सभामुखज्यू बिहानैदेखि सघन परामर्शमा हुनुहुन्छ । उहाँले मुख्यगरी राजनीतिक दलका शीर्ष नेता र संविधानविद्हरू र कानुन व्यवसायीसँग छलफल गरिरहनुभएको छ,’ न्यौपानेले भने ।
राजनीतिक दलका नेता र संविधानविद्हरूसँग छलफल गरेपछि सभामुख सापकोटाले शनिबार नै प्रतिनिधिसभा विघटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।