संसद विघटन र मध्यावधि निर्वाचन घोषणा पूर्व नियोजित षड्यन्त्रकाे क्लाइमेक्स-कांग्रेस
मध्यरातमा लोकतन्त्रमाथि डकैती भयो-वर्षमान पुन
काठमाडौ,८ जेठ । प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति भण्डारीकाे कदमकाे विपक्षी दलहरूद्वारा चर्को विराेध गरेका छन् ।
संविधानकाे धारा ७६(५) अनुसार सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमत सांसदहरूकाे हस्ताक्षर सहित प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति सेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूकाे हस्ताक्षर बिनै प्रधानमन्त्रीमा दाबी पेश गरेका बेला कसैलाई पनि प्रधानमन्त्रीमा नियुक्त नगरि मध्यरातमा संसद विघटन गरि मध्यावधि निर्वाचनको घाेषणा गरेपछि विपक्षी दलहरूले चर्काे बिराेध गरेका हुन् ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा पूर्व नियोजित षड्यन्त्र श्रृंखलाको क्लाइमेक्स भएको बताएको छ । साथै उसले प्रधानमन्त्री र राष्ट्रपतिका कदमबारे छलफल गर्न शनिबार बैठक बोलाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गरेका छन् । संविधानको धारा ७६(५) ले सांसदले गर्ने हस्ताक्षर र प्रस्ताव गर्ने विकल्पबारे बोल्ने भन्दै उनले भने, ‘कारबाही चेतावनीको पत्रलाई आधार मानेर राष्ट्रपतिले सांसदको हक छिन्न संविधानले कहाँ दिएको छ ?’भनी प्रश्न गरे ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले संसद विघटन गरेर मध्यावधि निर्वाचन घाेषणा गर्ने राष्ट्रपति भण्डारीकने कदमलाई ‘मध्यरातको डकैती’ को संज्ञा दिएका छन । राष्ट्रपतिको निर्णय सार्वजनिक भएलगत्तै ट्वीट गर्दै उनलेे प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई ‘मध्यरातको डकैती’ को संज्ञा दिएका हुन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले झैं राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको भन्दै उनलेे अब लोकतन्त्र बचाउन लड्ने पनि बताए ।
´कोरोना महामारी विरुद्धको लडाइँसँगै संविधान र लोकतन्त्र बचाउन विभिन्न रुपको संघर्ष जारी राख्छौं’, उनले भने ।
उता जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यो मध्यावधि चुनाव नभएर संविधान खारेज गर्ने प्रपञ्च भएको आराेप लगाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च भएको उनको आराेप छ ।
शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका हुन् ।
‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म !’ उनले ट्वीटरमा लेखेका छन् ‘यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं !’
यस्तै कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिले आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् । उनले अहिलेको राष्ट्रपतिबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन नसक्ने दाबी समेत गरे ।
परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने एमालेकै सांसदहरुको कारण देश मध्यावधि चुनावमा गएको बताएका छन् । एमालेकै सांसदहरुले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेकाले देश मध्यावधितर्फ गएको उनको भनाइ छ ।