संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध
काठमाडौं,६ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने भएका छन् ।
बिहीबार बसेेकाे मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा भएको कुराकानीबारे उनले भने, ‘अब विश्वासको मत नलिने, अब ७६ (५) अनुसार उनीहरुलाई (विपक्षी दललाई) नै सरकार बनाऊ भनेर राष्ट्रपतिलाई सिफारिश गरौं भन्नुभएको थियो ।’
ओली संविधानको धारा ७६ (३) अनुसार संसदको सबै भन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । यो व्यवस्थाअनुसार नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच प्रधानमन्त्री ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् ।
बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको पत्र राष्ट्रपतिसमक्ष आएको र राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको आग्रह अनुसार प्रक्रिया सुरु गर्दैछ ।