बुटवल,६ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उप निर्वाचनकाे माैन अवधिमा आचारसंहिता उलंघन गरेको भन्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलले मुख्यमन्त्री पाेखरेल बिरूद्व आयोगमा निवेदन दिएको हो ।
बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको अवस्थामा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलका पक्षमा भोट मागेर निर्वाचन आचारसंहिता उलंघन गरेकोले कारवाही गर्न माग गर्दै कांग्रेसले आयोगमा निवेदन दिएको हो।
कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको कार्यालयका स्वकीय सचिव सन्जिव बश्यालले आयोगमा आज उजुरी दर्ता गरेका हुन्।
‘मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचारसंहिताको उलंघन भएको छ,’ आयोगमा कांग्रेसले दर्ता गरेको पत्रमा उल्लेख छ।
निर्वाचन आचारसंहिताअनुसार मुख्यमन्त्री पोखरेललाई कारवाही गर्नसमेत कांग्रेसले माग गरेको छ।