बुटवल,४ जेठ ।
राष्ट्रियसभाका उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ ।
यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी-५ का चन्द्रबहादुर खड्का र नेपाली कांग्रेस,माओवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलवस्तुका दृगनारायण पाण्डेकाे उम्मेदवारी दर्ता भएको हो । खड्का नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवारी दर्ता गरेका पाण्डे लुम्बिनी प्रदेश सभा सदस्यबाट राजिनामा दिएर हालैमात्र नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
एमालेका तर्फबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित उनी प्रदेश सभाको सामाजिक विकास समितिका सभापति समेत रहेका थिए ।
दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उनीहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । प्रदेशमा रहेका १०९ स्थानीय तहमा एमालेका ९१, कांग्रेसका ६४, माओवादी ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ छन् ।
यसैगरी प्रदेश सभामा एमालेका ४१ सदस्य छन् । बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकि छन् भने अम्बरबहादुर डाँगीले राजीनामा दिइसकेका छन् । यस्तै कांग्रेसका १९, माओवादीका १८, राष्ट्रिय जनमोर्चा १, जसपाका ६ छन् भने दुई जनाले गठबन्धनलाई समर्थन गरेका छन् ।
प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले बताए ।