Share this News on Social Networking Pages

काठमाण्डाै,४ जेठ ।
पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व अर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् ।
वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने उनको भनाइ छ ।

नेता महतले भने, ‘फुल फेज वार्षिक बजेटका लागि विश्वासको मत प्राप्त गरेको सरकारले मात्रै ल्याउन सक्छ । वर्तमान सरकार नै अनिश्चित छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ । चाँडै नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुन्थ्यो । विश्वासको मत नलिइकन आउँदाे आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याउनु मेरो विचारमा उचित हुँदैन ।’

सरकारले विश्वासको मत प्राप्त नगरि बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा. महतले बताए । उनलेे बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेटअघिको प्रि–बजेट छलफल पनि जरुरी रहेको बताए ।

‘विधिपूर्वक प्रि–बजेटको बारेमा छलफल हुनु जरुरी छ ।
उनले भने- संसदमा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ । त्यसको आधारमा संसदमा पेस गरेर छलफल गरेपछि निर्णय गर्ने हो । त्यस्तो अवस्था अहिले छैन । त्यसकारण विश्वासको मत प्राप्त गरेर नै घोषणा गरेको भए उचित हुन्थ्यो । विश्वासको मत नलिइकन बजेट पेस गर्नुपर्ने अवस्था आयो भने आन्तरिक बजेट/काम चलाउ बजेट पेस गर्ने । राजस्व सम्बन्धी, करका दर तलमाथि गर्ने पनि होइन, कार्यक्रमहरू पनि तलमाथि गर्ने होइन, चालु कार्यक्रमहरूलाई निरन्तरता दिने गर्नुपर्छ ।’

विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उनले अन्य राजनीतिक पार्टीसँग पनि छलफल गरेर अन्तरिम/कामचलाउ बजेट ल्याउनुपर्ने बताए ।