काठमाडौं,३ जेठ । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
उनको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

काेराेना संक्रमणपछि उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपूरणीय क्षति भएको बताए ।