Share this News on Social Networking Pages

बुटवल,२ जेठ । काठमाडौ पछि कोरोना संक्रमणको ‘हटस्पट’ बनेको रुपन्देहीमा केही दिन यता संक्रमण र मृत्यु दर घट्न थालेको छ । पछिल्ला तीन दिनमा संक्रमित थपिने र मृत्यु हुने दुवै संख्या निरन्तर घट्दो क्रममा रहेको हो ।

वैशाख ३१ मा ५१४ जना संक्रमित थपिंदा ९ जनाको मृत्यु भएको थियो । शनिबार ४८६ जना संक्रमित थपिंदा ९ जनाकै मृत्यु भएको थियो । जुन संक्रमण दर क्रमशः ३३ र ३२ प्रतिशत तथा मृत्यु दर समान २ प्रतिशत थियो । तर आइतबारसम्म आइपुग्दा मृत्यु दर आधा घटेर १ प्रतिशतमा झरेको छ भने संक्रमण दर ३१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६०८ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

अस्पतालमा अक्सिजनको अभाव हुँदा मृत्यु दर बढेको र अक्सिजन पाएपछि मृत्यु दर घटेको स्वस्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए । अक्सिजन अभाव नहुने हो भने मृत्यु दर धेरै घटाउन सकिने उनको भनाइ छ ।
जिल्लामा पछिल्लो तीन दिनमा संक्रमित निको हुने दर ६५ बाट ६६ र ६८ प्रतिशत हुन आएको छ ।

रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय १४ रहेको छ भने मृत्यु हुने ३१५ जना पुगेका छन् । जिल्लामा २२ हजार ४ सय १९ जना कुल संक्रमित हुँदा १५ हजार १५४ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय प्रमुख गिरीले बताए । रुपन्देहीमा हाल ३३० जना लक्षणसहितका संक्रमित र ६ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन् ।पछिल्लो केही दिनयता देशभर काेराेना संक्रमण पुष्टि हुने र मृत्यु हुनेकाे संख्या समेत घट्दो क्रममा रहेको छ ।