बुटवल, २९ वैशाख । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४ जना रुपन्देहीका र एक जना पाल्पाका रहेका छन् । कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको प्रादेशिक अस्पतालकाे इर्जेन्सी वार्डमै मृत्यु भएको हो ।
मंगलबार इमर्जेन्सीमा भर्ना भएका तानसेन–१४ का ३८ वर्षीय पुरुषको मंगलबार राती ११ बजे, सैनामैना ७ रुपन्देहीका ३६ वर्षीय पुरुषको मंगरलबार साँझ ६:३५ बजे र वैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५:३३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
यस्तै मंगलबार नै भर्ना भएकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधबार बिहान ७:५२ बजे र वैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि बुधबार बिहान ५:५२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए ।
यस्तै बुटवल-६ का ४४ वर्षीय पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालको एचडीयूमा मंगलबार साँझ ७ बजे मृत्यु भएको उनले जानकारी दिए ।
डा. गौतमले संक्रमितको चाप बढेपछि अस्पतालमा आईसीयू र एचडीयू दुवै थरी बेड भरिभराउ भएकाले अक्सिजन नभइ नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था रहेको गुनासो गरे ।
यससँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।