Share this News on Social Networking Pages

काठमाडौ,२७ वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन ।

प्रतिनिधि सभामा आज भएको मत विभाजनमा प्रधानमन्त्री ओलीले आवश्यक मत प्राप्त गर्न असफल भएका हुन् । विश्वासको मत प्राप्त गर्न असफल भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढल्ने भएको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक थियो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ ।

सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहे ।

प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी थिइन् ।

आजको अधिवेशनको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्ष मण्डल बनाएर सभामुखले १५ मिनेट बैठक स्थगित गरे ।

अर्को चरणको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरे। प्रस्ताव टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गरे भने त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राखे ।

सांसदहरुको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिएसँगै मतदान अर्थात मत विभाजन सुरु भएको थियो । मत विभाजनका क्रममा हुन्छ, हुन्न र मत दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ ।

सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन् ।
विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।

प्रधानमन्त्री ओलीले संसदको विश्वास गुमाएसँगै तीन वर्षसम्म चलेको कम्युनिष्ट सरकार ढल्ने भएको छ । शुरुमा सरकारसँग झण्डै दुई तिहाई बहुमत थियो ।

कम्युनिष्ट सरकारले पाँच वर्ष काम गर्न नसक्नुमा एकले अर्कोलाई आरोप लगाएका छन् । प्रचण्ड र माधव नेपालले केपी ओलीकै कारण यो स्थिति आएको बताएका छन् भने ओलीले चाहिँ प्रचण्ड र माधव नेपालमाथि दोष लगाएका छन् ।