बुटवल, १७ वैशाख ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तीन जनालाई एक महिना कैद सजाय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको अभियोगमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजनालाई एक महिना कैद सजाय तोकेको हो ।
जरिवाना तिर्न नसकेका उनिहरुलाई बिहिबारै कारागार चलान गरिएको छ ।
कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका छन् ।
निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अबरोध पु¥याएको हुँदा नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
प्रहरीले निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पहिलो दिन १ हजार २० वटा सवारी साधन होल्डमा राखेर छाडेको छ । जसमध्ये ५० वटा सार्वजनिक सवारी साधन, १० वटा निजी सवारी साधन, १८० वटा मालवाहक सवारी साधन, ७१० वटा मोटरसाइकल, ७० वटा साइकल र २०० जना प्रदलयात्रीलाई होल्डमा राखेर छाडिएको प्रनाउ थापाले बताए ।
कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा कडाइ गरिएकाले पालना गर्न जिल्ला प्रशासनले सबैसँग अपील गरेको छ ।