Share this News on Social Networking Pages

बुटवल,१६ वैशाख ।
जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्य पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले बिहीबार एक सूचना प्रकाशित गरी प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डे,विजयबहादुर यादव,कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी पदमुक्त भएको जनाएको हो ।

उनीहरुमध्ये पाण्डे र रायमाझीले सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । यादव र पाण्डेले भने हस्ताक्षर गरेका थिएनन् ।
चारैजना सांसदले पार्टी संसदीय दल र पार्टी प्रदेश समितिको निर्णय र ह्वीप उल्लंघन गरेको भन्दै प्रदेश समितिले पदमुक्त गर्न केन्द्रीय कार्यकारिणी समितिलाई सिफारिस गरेको थियो ।

केन्द्रीय कार्यकारिणी समितिको ५१ जना मध्ये २६ जनाको वहुमतले प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट पदमुक्त गरेको निर्णय प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो ।

सोही निर्णय अनुसार प्रदेश सभा सचिवालयले उनीहरु पदमुक्त भएको सूचना जारी गरेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

मन्त्रीको सपथ खाएको ११ दिनमै उनिहरु प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् ।

प्रदेश सभा सदस्य पद खारेज भएसँगै उनिहरु मन्त्री हुन पुन सपथ ग्रहण गर्नुपर्ने हुन्छ ।