बुटवल,१६ वैशाख ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रुपन्देही लगायत बिभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएको छ ।
रुपन्देहीमा आज बिहान ६ बजदेखि निषेधाज्ञा लागु भएको छ भने काठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ ।
निषेधाज्ञाका कारण बजारका पसल व्यवसाय बन्द रहेका छन् भने सार्वजनिक सवारी साधन नचल्दा सडक सुनसान भएका छन् ।
चितवन, कैलाली र पर्सामा पनि आजैदेखि निषेधाज्ञा लगाइएको छ भने दाङ र पाल्पामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ ।
बाँके, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संक्रमणबाट बच्न सरकारले बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।
निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायत सञ्चालन गर्न पाइँदैन ।
अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वरेण्टीन, आइसोलेशन, फोहर मैला व्यवस्थापनलगायत ढुवानीका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी सवारी पास लिएर गाडी प्रयोग गर्न पाइने छ ।
अस्पताल आउनेजाने बिरामी वा कुरुवा तथा मृत्यु संस्कारमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्थामा गाडी प्रयोग गर्नुपरे प्रमुख जिल्ला अधिकारीबाट जारी हुने सवारी पास लिनुपर्ने भएको छ । खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका अन्य व्यवसाय बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाइनेछ ।