Share this News on Social Networking Pages

रोल्पा,१५ वैशाख ।
आगलागिबाट रोल्पामा ४२ वटा घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका २ पिराले गाउँ नै सखाप भएको छ । उक्त गाउँमा फुसका छाना भएका २६ वटा घर सबै जलेका छन् । सोमबारबाट सो वडाका विभिन्न ५ वटा सामुदायीक वनहरुबाट सुरु भएको आगो मंगलबार साँझ ७ बजेदेखि मानव वस्तीमा लागेको हो ।

२ नम्वर वडाकै बर्तिबाङ गाउँमा ९, चेत्रे गाउँमा ४ र यसै गाउँपालिकाको ३ नम्वर वडामा ३ वटा गरी ४२ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

आगलागीबाट घरमा भएका सम्पुर्ण सामानहरु जलेर नष्ट भएका छन् । १६ वटा बाख्रा, ७ वटा गाई, एउटा सुंगुर जलेर मरेका छन् । तत्कालिन नुवागाउँ गाविसका १, २, ३, ४ वडामा आगो फैलिएको छ । घर जलेपछि ३५ घरपरिवार खुल्ला आकासमुनि बसीरहेका छन् । नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाले चिउरा, चाउचाउ, त्रिपाल जस्ता राहत दिएको छ ।

त्रिवेणी गाउँपालिकाबाट सुरु भएको आगलागी रुन्टीगढी गाउँपालिकाको वडा नं ९ को सर्पाल र गुनाम गाउँको जंगलमा पुगेको छ । सर्पाल गुनाम लगायत ठाउँका ३ सयबढी घर आगलागीको जोखिममा रहेका छन् । आगलागी भएको वस्तीमा खानेपानी, विजुली बत्ती, अवरुद्ध भएको छ ।

वस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, स्थानीय लागि परेका छन् । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रनाउ सुवेदीले बताए । जिल्लामा ३ सय हेक्टर भन्दाबढी जंगलमा आगलागी भएको अनुमान गरिएको छ ।