बुटवल,१२ बैशाख ।
ट्रक ब्यवसायीहरुले लुम्बिनी प्रदेशका नवनियुक्त भौंतिक पुर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयलाई भारतीय ओभरलोड गाडीले गर्दा नेपालका ५० प्रतिशत ब्यवसायी समस्यामा परेको गुनासो गरेका छन ।
पश्चिमाञ्चल यातायात ब्यवसायी समितिले आईतवार लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्री सन्तोष पाण्डेय र राज्यमन्त्री सुमन शर्मा रायमाझीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै ब्यवसायीहरुले भारतीय ओभरलोड गाडीले गर्दा ढुवानी ब्यवसायी समस्यामा परेको र नेपालको सडक, पुलमा समेत क्षति पुराएको बताए ।
तर यसलाई रोक्न भने सरकारले कुनै चासो नदिएको बताए । भारतीय गाडीसँग प्रतिस्प्रर्धा गर्न आफुहरुले नसक्ने र ओभरलोड गाडीलाई सिमा नाकामा नै ब्यवस्थापन गर्न उनिहरुले सुझाब समेत दिए । कार्यक्रममा बोल्दै भौतिक पुर्वाधार विकास मन्त्री पाण्डेयले भारतबाट खाद्यान्न तथा लत्ताकपडा बोकेर आउँने ओभरलोड गाडीलाई भन्सारबाटै अनलोड गरि यहीका ट्रकबाट ठाउँ ठाउँमा पुराउन पहल गर्ने प्रतिवद्धता जनाए ।
ओभरलोड गाडीको समस्या पहिलेदेखि नै नेपालमा कायम रहेको बताउँदै उनले आफु मन्त्री हुने वित्तिकै तत्काल हटाउन नसक्ने र त्यसका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
नेपाल ट्रक ब्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले भारतीय मालबाहक सवारी नेपालमा निर्वाध रुपमा चल्न पाउँने ब्यवस्थाले नेपाली ब्यवासयीका लागि घातक सावित भएको बताए । नेपालमा ७० हजार ट्रक रहेको भन्दै उनले भारतीय गाडी नेपालमा चल्दा ५० प्रतिशत ब्यवसायी काम बिहिन बनेको दाबी गरे ।
ओभरलोड गाडीले गर्दा सडक , पुलहरु ध्वस्त बन्दा समेत राज्यले यसलाई रोक्न कुनै कदम नचालेको दुखेसो पोखे ।
पश्चिमाञ्च यातायात ब्यवसायी समितिका पुर्व अध्यक्ष गुप्त बहादुर केसीले स्वदेशका ट्रकले ओभरलोड बोक्दा कारबाहीको भागिदार हुनु परेको तर भारतीय ट्रकले ओभरलोड बोक्दा समेत सरकारले कुनै कारबाही गर्न नसकेको गुनासो गरे ।
मुलुकको दुर्गम क्षेत्रसम्म खाद्यान्न तथा मालसामान ढुवानी गरी ब्यवसायीले आफ्नो कर्तब्य पुरा गरेपनि सरकारले भने भारतीय ओभरलोड रोक्न नसकेकोमा उनको आक्रोश थियो ।
यस्तै पश्चिमाञ्चल यातायात ब्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डेयले यातायात क्षेत्रको अधिकार अहिले प्रदेश सरकारमा आएको हुँदा प्रदेश सरकारबाट आफ्नो गुनासो सम्बोधन हुने विश्वास ब्यक्त गरे ।
समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की, महासचिव जीत बहादुर भाटले भारतीय भारबहन गाडीसँग नेपाली गाडीले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै भारतीय गाडीलाई पनि भारबहन मिलाएर मात्र नेपालमा गुड्न दिनुपर्ने शुझाब दिए । कार्यक्रममा नवनियुक्त मन्त्री पाण्डेय र रायमाझीलाई सम्मान गरिएको थियो ।