बुटवल,१२ वैशाख ।
कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीमा यही वैशाख १४ गते मंगलबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यही वैशाख १४ गते मंगलबारदेखि सार्वजनिक तथा निजि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।
निर्णयसँै जोर गतेका दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने ब्यवस्था मिलाउन समन्वय बैठकले निर्णय गरेको छ ।
यसअघि बसेको डिसीसीएमसीको बैठकले भैरहवा र बुटवल लगायतका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको संयोजकत्मा बसेको सुरक्षा अधिकारी तथा स्थानिय तहका प्रमुख, अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानिय तहका सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाईको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाईको ब्यवस्था गर्न प्रशासनले निर्देशन दिएको छ ।
यसका साथै सबै किसिमका पूर्व निर्धारित परिक्षाहरु समेत हाललाई स्थगन गर्न बैठकले निर्णय गरेको छ ।
बैठकमा सबै स्थानिय तहका अध्यक्ष, प्रमुख एवम प्रतिनिधिहरुले कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम वडा र टोल स्तरमा गर्ने प्रतिवद्धता जनाएका छन् ।
यस्तै बैठकले प्रत्येक पालिकामा कम्तिमा १ वटा एम्बुलेन्स तैयारी अवश्थामा राख्न समेत निर्देशन गरेको छ । अहिले रहेका सामुदायिक आईसोलेसन र क्वारेन्टाईनहरुको क्षमता विकास गरि पूर्व तयारी अवस्थामा राख्न समेत बैठकले आग्रह गरेको छ ।