Share this News on Social Networking Pages


मुलुकमा सुशासन कायम हुन नसक्दा दण्डहीनता मौलाएकोमा चिन्ता

बुटवल,११ वैशाख ।
मुलुकमा लोकतन्त्र दिवस मनाइरहदा आम नागरिकले भने लोकतन्त्रको अनुभूती गर्न नपाएको गुनासो गरेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजद्धारा आज बुटवलमा आयोजित ‘लोकतन्त्र र सुशासन’ बिषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनिहरुले उक्त गुनासो गरेका हुन ।

कार्यक्रममा वुमन केयर नेपाल,रुपन्देही अध्यक्ष रीता केसीले सिमित नेताका आफन्त र प्रेमिकाहरुले पद र सेवा सुविधा प्राप्त गर्ने बाहेक आम नेपाली जनताले लोकतन्त्रको अनुभूती गर्न नपाएको भन्दै केही नेताका छोरा छोरी,नातागोता र प्रेमिकाहरुलाई सांसद बनाउन लोकतन्त्र ल्याएको हो ? भनि प्रश्न गरिन् ।
पाँच बर्षकी बालिका बलात्कार हुँदा समेत प्रहरीले जाहेरी लिन नमान्ने गरेको भन्दै उनले सुशासनको अभावमा मुलुकमा दण्डहीनता मौलाएको बताइन् ।

कार्यक्रममा मधेस मानव अधिकार गृहका अध्यक्ष रबी ठाकुरले मुलुकमा सुशासन कायम हुन नसक्नुमा पत्रकारहरु पनि दोषि रहेको भन्दै पालिकाहरुबाट हरेक बर्ष पुरस्कार थाप्ने र सार्वजनिक सुनुवाई कार्यक्रमको ठेक्का समेत पत्रकारहरुले लिने गरेका कारण स्थानीय तहमा भएका अनियमितताहरु बाहिर आउन नसकेको बिचार व्यक्त गरे ।

नेपाल बार एसोशियसन उच्च अदालत तुल्सीपूर बुटवल इजलासका अध्यक्ष जोग बहादुर खत्रीले पनि पालिकाहरुबाट पुरस्कार थाप्ने कुरामा पत्रकारहरुले सोच्नुपर्ने बिचार व्यक्त गरे ।

कार्यक्रममा राजनीतिक दल तथा नागरिक समाजका व्यक्तिहरु सबैले आ आफ्नो जिम्मेवारी निर्वाह नगरेका कारण मुलुकमा सुशासन कायम हुन नसकेको भन्दै वक्ताहरुले जनतालाई लोकतन्त्रको अनुभूती गराउन सबैले आ आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।