Share this News on Social Networking Pages

बुटवल,९ वैशाख ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले माओवादी आन्दोलनलाई पुनर्एकिकृत गर्नुपर्नेमा जोड दिएको छ ।

लेनिन जयन्तीको अवसरमा समाजवादी अभियान नेपाल रुपन्देहीद्धारा आज बुटवलमा आयोजित ‘सहीदहरुका सपना र हाम्रो भूमिका’ बिषयक साझा सवाल कार्यक्रमममा बोल्दै उनले टुटफुट र बिभाजनले छिन्न भिन्न भएको माओवादी आन्दोलनलाई पुनर्एकिकृत गरेर समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।

माओवादी आन्दोलनकै कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको भन्दै उनले आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्दै बाँकी कार्यभार पुरा गर्नका लागि माओवादी पृष्ठभूमिका शक्तिहरु एकजुट भएर अगाडी बढ्नुको बिकल्प नभएको बिचार व्यक्त गरे ।

कार्यक्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्कुल बिभाग प्रमुख भेषराज भुसालले पनि कम्युनिष्ट पार्टीहरुमा आएको टुटफुट र बिभाजनका कारण जनतामा निरासा छाएको भन्दै बिगतका कमिकमजोरीहरुबारे निर्मम समिक्षा गर्न आफ्नो पार्टी तयार रहेको बताए ।

नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य प्रेम सुबेदीले पनि कम्युनिष्ट पार्टीहरुमा आएको बिभाजनले जनताका एजेण्डा ओझेलमा परेको भन्दै बिगतमा भएका कमिकमजोरीहरुलाई सच्याउदै कम्युनिष्ट आन्दोलनलाई पुनर्संसंगठित गर्नुपर्नेमा जोड दिए ।

समाजवादी अभियान रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाम बिष्लेषक डा.माधव पन्थी,पुर्व सभाषद बिनोद उपाध्याय,माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षेत्री,बरीष्ठ पत्रकार तथा अधिवक्ता डा.बालकृष्ण चापागाई,शिक्षक अगुवा घनश्याम पाठक,समाजवादी अभियानका सह संयोजक गुनाराम घिमिरे,सचिब मिना कुमारी न्यौपाने लगायतले आ आफ्नो भनाई राखेका थिए ।