पार्टीलाई एकतावद्ध र सुदृढ बनाएर हिँडाउन लागिपरेको भनाई
काठमाडौं,७ वैशाख ।
नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् ।
अध्यक्ष ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि मंगलबार दिउँसो नेपाल समूहका सांसदहरुको बैठक बसेको थियो । बैठकले पार्टी फुटाउने उद्देश्यका साथ झुटा आरोपहरु लगाएर स्पष्टीकरण सोधिएको भन्दै त्यसको सामना गर्ने निर्णय गरेको छ ।
‘हामीमाथि लगाइएका आरोपहरु कपोकल्पित र भ्रामक छन्’ बैठकमा सहभागी एक सांसदले भने, ‘हामीलाई अर्को पार्टी बनाएको भनेर स्पष्टीकरण सोधिएको छ । हामीले अर्को पार्टी बनाएका छैनौं, पार्टीभित्र अन्तर्संघर्ष गरिहेका छौं र एकतावद्ध र सुदृढ बनाएर हिँडाउन लागिपरेका छौं ।’
अध्यक्ष ओली र उनको समूहले २८ फागुनमा एकलौटी निर्णय गरेर पार्टीलाई विभाजनको दिशामा लगेको भन्दै नेताहरुले त्यसको सामना गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ पनि दिने सांसद गणेश पहाडीले जानकारी दिए ।