बुटवल,७ वैशाख ।
कपिलवस्तुको चम्पापुरमा बस र ट्रक एकापसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–२ बस्ने २७ वर्षीय कृष्णबहादुर गुरुङ रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका प्रहरी हवल्दार भरत गुरुङले जानकारी दिए । मृतक चालकको शव बुटवलको चौराहा अस्पतालमा राखिएको छ ।
बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र दाङबाट बुटवल तर्फ आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।
घाइतेहरुको बुटवलको कालिकानगर स्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । दुर्घटनाग्रस्त ट्रक, ट्रकका चालक र बसलाई नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।