Share this News on Social Networking Pages

बुटवल, ६ वैशाख ।
जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समितिले पार्टी निर्णय विपरीत सरकारमा जाने चार सांसदलाई पार्टीबाट निलम्बन गरेको छ ।

२४ घण्टाभित्र सरकारबाट राजीनामा गरेर फिर्ता नभए संसद् पद निलम्बनको प्रक्रिया अघि बढाइने जसपाले चेतावनी दिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल बिरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्य समेत मन्त्रीको सपथ लिएपछि पार्टीले २० घण्टे स्पष्टिकरण सोधेको हो ।

पार्टीको प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले विज्ञप्ती जारी गर्दै संसदीय दलको बैठकमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने बहुमतले निर्णय गरेर त्यही सरकारमा मन्त्रीको शपथ लिने चारै जनालाई तत्काल राजीनामा गरेर फिर्ता हुन निर्देशन गरेको छ । जसपाले सरकारमा मन्त्रीको शपथ ग्रहण गरेका सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई पार्टीको निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारबाट फर्कन निर्देशन गरेको हो ।

पार्टी प्रधानमन्त्री केपी ओलीको पुस ५ गतेको संसद् विघटन गर्ने कदमलाई असंवैधानिक भन्दै अर्को सरकारको विकल्पमा लागेको पनि उनले विज्ञप्ति मार्फत स्पष्ट पारेका छन् । उनले सोमबार बिहान साढे ७ बजेदेखि नै बसेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा बहुमतले निर्णय गर्दै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने निर्णय भएको जनाएका छन् ।शपथ लिएका चारै जनालाई २४ घण्टे स्पष्टिकरण सोध्दै स्पष्टिकरणको चित्त बुझ्दो जवाफ नआएसम्मका लागि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको विज्ञप्तीमा जनाइएको छ ।

‘यथाशिघ्र सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टिकरण नआएको खण्डमा निजहरुलाई संसद् पद नरहने गरी कारबाहीका लागि सम्पूर्ण कानुनी प्रक्रिया अवलम्बन गरिने व्यहोरा सम्पूर्ण पार्टी पंक्तिमा जानकारी गराइन्छ,’ विज्ञप्तीमा उल्लेख छ ।

कारबाहीमा पर्ने सन्तोषकुमार पाण्डेले भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार विकास राज्य मन्त्रालयको नियुक्ती पाएका छन् ।