काठमाडौं,६ वैशाख ।
प्रतिनिधिसभाको हिउदे अधिवेशन अचानक अन्त्य भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।
संसद बैठक बस्ने मिति तय भइसकेको अवस्थामा संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।
हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । त्यसको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ ।
संसद पुनर्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको संसदलाई पुनर्थापना गर्न सर्वोच्च अदालतले फागुन ११ गते आदेश दिएको थियो ।