Share this News on Social Networking Pages

काठमाण्डाै,४ बैशाख । देशका पहाडी भूभागका केही ठाउँ र तराईका थोरै ठाउँमा आज पनि हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजदेखि पश्चिमी वायु पनि भित्रिएको छ । स्थानीय र पश्चिमी गरी दुई वटा प्रणाली सक्रिय रहेकाले मौसम बद्लीसँगै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु मनसुन सुरु नहुँदासम्म बेलाबेला देखिने गरेको तर यसको असर कमजोर रहने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

आज र भोलि पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित असिना पानीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । हिजो काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा चट्याङ्ग, हावाहुरीसहित असिना पानी परेको थियो ।

लामो समयदेखि खडेरी परेका बेला परेको असिना पानीले कतै कतै क्षति गरे पनि खेती लगाउन तयार किसानलाई राहत पुगेको छ । साथै डढेलो र प्रदूषणको असर घटाउन अहिले परेको पानी महत्त्वपूर्ण रहेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताए ।