सुर्खेत, ३० चैत ।
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन् ।
रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका थिए ।
उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ ।
सोमबार कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना प्रकाशित गरी रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी दिए ।
उता नेकपा माओवादी केन्द्रले प्रदेश–२ का चार जना प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ ।
पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएको कारण प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र ज्वाला साहलाई बर्खास्त गरेको हो ।
चारैजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई समेत बुझाएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।
गएको शुक्रवार काठमाण्डौमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले माओवादी छोडेर एमालेमा गएको भन्दै रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
प्रदेश–२ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकामा चार जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।
कुनै सांसदले दल त्याग गरेको सूचना प्रदेशसभा चालु रहेको अवस्थामा प्रदेशसभा बैठकमा जानकारी गराउने र प्रदेशसभा अधिवेशन स्थगित भएको अवस्थामा सचिवालयले सूचना प्रकाशित गरेपछि ती सांसदको पद रिक्त भएको मानिने कानुनी व्यवस्था छ ।