चितवन,२९ चैत ।
चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको भ्यान आइतबार बिहान ९ बजेतिर भरतपुर महानगरपालिका–१९ रामपुर चौकी नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भ्यान अनियन्त्रित भएर सडकको कल्बर्डबाट खाल्डोमा खस्दा भ्यानमा रहेका नौजनामध्ये दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका–१ का ४५ वर्षीय सूर्य खाती र भरतपुर महानगरपालिका–४ का ५० वर्षीय राजेन्द्र दमाई रहेको प्रहरीले जनाएको छ ।
खातीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । त्यस्तै, दमाईको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेमध्ये लमजुङको दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय विनोद गुरुङ र रसुवाको कालिका गाउँपालिका–२ का १९ वर्षीय प्रदीप घिमिरेको पुरानो मेडिकल कलेज र गाडी चालक भरतपुर–१९ शारदानगरका ३५ वर्षीय रमेश थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्यस्तै, भरतपुर–६ का ४७ वर्षीय शारदा परियार, भरतपुर–२१ पार्वतिपुरका ४८ वर्षीय कुमारी विक र भरतपुर–१९ शारदानगरका ३२ वर्षीय बबिता गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
विक र गुरुङको अवस्था गम्भीर रहेको छ । अर्का घाइते भरतपुर–१९ रामपुरका २४ वर्षीय अनुप लामाको रामपुरमा नै स्थानीय मेडिकलमा उपचार भएको छ ।