Share this News on Social Networking Pages

बुटवल,२६ चैत ।
नेपाल पत्रकार महासंघ रुपन्देहीमा रामराज पोखरेल नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट महिला उपाध्यक्ष र एक सदस्य बाहेक अध्यक्ष रामराज पोखरेल नेतृत्वको लोकतान्त्रिक प्यानलका पदाधिकारी तथा सदस्यहरु विजयी भएका हुन् ।

केपी शर्मा ओली पक्षीय एमाले निकट प्रेस चौतारी नेतृत्वको साझा प्यानललाई पराजित गर्दै लोकतान्त्रिक प्यानल आगामी तीन वर्षका लागि निर्वाचित भएको हो । लोकतान्त्रिक प्यानलका रामराज पोखरेलले १६३ मत सहित विजयी भएका छन् भने उनका प्रत्यासी साझा प्यानलका दिनेश पाण्डेले १२० मत प्राप्त गरे ।

उपाध्यक्षतर्फ पनि लोकतान्त्रिक प्यानलकै विश्वास ढकाल विजयी भएका छन् । उनले १९४ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी साझा प्यानलका उम्मेद्वार हेम बहादुर पछाई ‘दिपेश’ ले १०० मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला उपाध्यक्षतर्फ भने साझा प्यानलकी अमृता अनमोल एक मत अन्तरले विजयी भएकी छन् । उनले १४९ मत प्राप्त गरेकी छन् भने उनकी प्रत्यासी लोकतान्त्रिक प्यानलकी सन्जु पौडेलले १४८ मत प्राप्त गरेकी छन् । त्यसैगरी लोकतान्त्रिक प्यानलकै सञ्जय सौगातले १५२ मत प्राप्त गरी कोषाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिष्पर्धी स्वस्तिक श्रेष्ठले १४६ मत प्राप्त गरे ।

त्यसैगरी सचिव पदमा लोकतान्त्रिक प्यानलकै विनोद परियार विजयी भएका छन् । परियारले १८५ मत प्राप्त गरेका छन् भने साझा प्यानलका लक्ष्मण पोखरेलले ११० मत प्राप्त गरेका छन् । सहसचिवमा पनि लोकतान्त्रि प्यानलकै विरेन्द्र कुँवर विजयी भएका छन् । कुँवरले १६७ मत प्राप्त गरेका छन् भने केशव भण्डारीले १२२ मत प्राप्त गरेका छन् । समावेशी महिला सह–सचिवमा लोकतान्त्रिक प्यानलकै माया केसी विजयी भएकी छन् । उनले १८५ मत प्राप्त गर्दा साझा प्यानलका गोबिन्द घर्तीले १०८ मत प्राप्त गरे ।

यस्तै खुल्ला सदस्यमा लोकतान्त्रिक प्यानलकै प्रदिप आचार्य, कबिराज अधिकारी, थानेश्वर घिमिरे, मोतिराम न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेल्वासे, महिला सदस्यमा लोकतान्त्रिक प्यानलकी हरिकला अधिकारी, जनताति सदस्यमा पनि लोकतान्त्रिक प्यानलकै राज चौधरी विजयी भएका छन् । यस्तै खुल्ला सदस्यमा प्रगतिशिल साझा प्यानलका प्रकाश आचार्य मात्रै निर्वाचित भएका छन् ।

पोखरेल नेतृत्वको प्यानलमा नेपाल प्रेस यूनियन, प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघ र पाण्डे नेतृत्वको प्यानलमा प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चबीच गठबन्धन बनेको थियो । लोकतान्त्रिक प्यानलको जीतसँगै करिब २० वर्षपछि रुपन्देहीमा प्रेस यूनियनले पत्रकार महासंघको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । निर्वाचित अध्यक्ष पोखरेल पूर्व उपाध्यक्ष हुने भने पराजित पाण्डे वर्तमान उपाध्यक्ष हुन् ।