पाँचवटा बैठक बसेर प्रदेश सभाको अधिवेशन अन्त्य गरेकोमा प्रदेश सभा सदस्यहरुद्धारा बिरोध
बुटवल,२४ चैत ।
दल परिवर्तन गरेका लुम्बिनी प्रदेशका दुई प्रदेश सभा सदस्यको पद गएको छ ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको चैत १३ गतेको निर्णय अनुसार दल परित्याग गरेका रूपन्देहीको निर्वाचन क्षेत्र नं १ (२) का दधिराम न्यौपाने र गुल्मीको निर्वाचन क्षेत्र नं २ (२) का दिनेश पन्थीको पद मंगलबारदेखि रिक्त भएको हो ।
मंगलबार बसेको प्रदेश सभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले नेकपा माओवादी केन्द्रको संसदीय दलको चैत १३ गतेको निर्णय अनुसार दल परित्याग गरेका रूपन्देहीको निर्वाचन क्षेत्र नं १ (२) का दधिराम न्यौपाने र गुल्मीको निर्वाचन क्षेत्र नं २ (२) का दिनेश पन्थीको पद मंगलबारदेखि रिक्त भएको घोषणा गरेका हुन् ।
दुवै प्रदेशसभा सदस्यले नेकपा माओवादी केन्द्र परित्याग गरी प्रधानमन्त्री केपी ओली नेतृत्वको एमालेको केन्द्रीय सदस्य बनेका थिए ।
नेकपा माओवादीको लुम्बिनी प्रदेशसभाको राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ एवं दफा ३२ को उपदफा १ को खण्ड ख बमोजिम कारबाही गरिएको पत्र सभामुख पूर्णबहादुर घर्तिले सभालाई जानकारी गराएका थिए । उक्त दफामा दल परित्याग गरेको खण्डमा सोही पार्टीको संसदीय दलको निर्णय र पार्टीले कारबाही गरेको जानकारी प्रदेशसभालाई दिएमा उक्त पद रिक्त हुने व्यवस्था रहेको छ ।
दुई प्रदेशसभा सदस्य कारबाहीमा परेसँगै लुम्बिनी प्रदेशसभामा अब प्रदेशसभा सदस्यको संख्या ८५ भएको छ । माओवादी केन्द्रका २० सांसदबाट १८ जना भएका छन् ।
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन पनि मंगलबार रातिदेखि अन्त्य भएको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेश सभाको चालु सातौं अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । चैत १८ गतेबाट सुरू भएको सातौं अधिवेशन पांचवटा बैठक मात्र बसेर अन्त्य भएको हो ।
यसैबीच पाँचवटा मात्रै बैठक बसेर प्रदेश सभाको अधिवेशन अन्त्य गरेकोमा सत्तारुढ सहित विपक्षी दलका प्रदेश सभा सदस्यहरुले बिरोध गरेका छन् ।
मंगलबार बसेको प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोल्दै नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले अधिवेशन सुरु भएको एक सातामै अन्त्य गर्ने प्रदेश सरकारको निर्णयको बिरोध गरेका हुन् ।
प्रदेश सभाको सुरुमै बिशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बीरबहादुर रानाले जनताको आवाज मुखरित गर्ने थलो संसदलाई अत्यन्तै छोटो समयमा अन्त्य गरेर सरकार संसदबाट किन भाग्दैछ भनि प्रश्न गरे ।
सोमबारको प्रदेश सभा बैठकमा केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्न नदिने भनि उद्घोष गरेका मुख्यमन्त्री शंकर पोखरेलले सामबारकै मन्त्रीपरिषद बैठकबाट प्रदेश सभा बैठक अन्त्य गर्ने निर्णय गरेर आफ्नै प्रतिवद्धता बिपरितको काम गरेको बताए ।
नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशलाई अन्य प्रदेश भन्दा नमुना प्रदेश बनाउने र केन्द्रीय राजनीतिमा देखापरेको बिवादको प्रभाव प्रदेशमा पर्न नदिने सदनमा प्रतिवद्धता बिपरित मुख्यमन्त्रीले छोटो समयमा प्रदेश सभा अन्त्य गरेर संसदबाट भाग्न खोजेको आरोप लगाए ।
जनता समाजवादीका प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले पनि चार दिन संसद चलाएर संसद अधिवेशन अन्त्य गरेकोमा आश्चर्य व्यक्त गरे ।