काठमाडौ,२२ चैत ।
आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान बिभागले जनाएको छ ।
हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको र देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
आइतबार प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सोमबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
मंगलबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।