Share this News on Social Networking Pages

प्रकाश खनाल
बुटवल,२० चैत ।
लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमदेखि म्यानमारको सैनिक दमनसम्मको चर्चा भएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बिशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले प्रदेशमा दुर्घटना न्यूनिकरण गर्नेदेखि प्रधानमन्त्री ओलीले चालेका कदम र म्यानमारमा भैरहेको सैनिक दमनको बिरोध गरे ।
प्रदेश सभाको बैठकको सुरुमै बिशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्य रमा अर्यालले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि विद्यालय समय सुरुहुनु अघि बिहान ९ देखि १० र बेलुका ४ देखि ५ बजेसम्म मालबाहक सवारी साधन गुड्न रोक लगाउनुपर्नेमा जोड दिइन् ।
उनले म्यानमारमा भएको सैनिक दमनको बिरोध गर्दै म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सूची लगायतका नेताहरुको रिहाई र त्यहाँका नागरिकको जिउधनको रक्षाका लागि अन्तराष्ट्रिय समूदायसँग पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
प्रदेश सभा सदस्य इन्द्र प्रसाद खरेलले नेपाली जनताले नेपालका कम्युनिष्ट पार्टीहरुलाई गरेको विश्वासमाथि प्रधानमन्त्री ओलीले अपमान गरेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले नेपालको विकास देखेर अन्तराष्ट्रिय समुदाय दङ्ग परे पनि भन्ने अर्कोतर्फ काम गर्न नदिएकाले संसद बिघटन गरेको भनेर जनतालाई भ्रममा पारेको भन्दै बिरोध गरे ।
पञ्चायत र बहुदलकालमा भन्दा बर्तमान सरकारको पालामा भ्रष्टाचार बढेको भन्दै उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने भन्दा पनि भ्रष्टाचारी र कमिशनखोरलाई पुरस्कृत गरेको आरोप लगाए ।
नेकपा एमालेका प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले भने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बचाउ गर्दै केही पद लोलुप नेताहरुका कारण पार्टी बिभाजन भएको दाबी गरे ।
बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले सरकारले मुलुकका सबै प्रमुख सीमा नाका खुला गरे पनि भन्सार कार्यालयहरुले मालबाहक गाडी बाहेक पर्यटक सवार लगायतका अन्य सवारी साधन प्रवेश नदिदा पर्यटन क्षेत्र मारमा परेको बताए ।
रुपन्देहीमा मात्रै पर्यटन क्षेत्रमा खर्बौ लगानी भएको भन्दै उनले पर्यटन क्षेत्रमा भएको लगानी डुब्न नदिन आवस्यक स्वास्थ्य सूरक्षा अपनाएर सीमा नाकाबाट पर्यटक आगमन सूचारु गर्न माग गरे ।
बैठकमा समितिको बार्षिक प्रतिवेदन पेश गर्दै सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको बेरुजु बढेको भन्दै बेरुजु फस्र्यौट गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रदेशका मन्त्रालयमध्ये भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयमा सबैभन्दा बढि बेथिति र अनियमितता रहेको र दोस्रोमा भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको भन्दै उनले बेरुजु फछ्र्यौट गर्ने कार्यमा सरकारले ध्यान नदिएको बताए ।
बैठकमा प्रदेश सभा सदस्यहरु बिजय बहादुर यादव,दीपेश थारु,सन्तोष कुमार पाण्डेय,कमलादेबि बिकले बिशेष समय लिएर बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
शुक्रबारकै बैठकमा कृषि,वन तथा वातावरण समितिका सभापति बिजय बहादुर यादव,अर्थ,उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने र भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकारले आ आफ्नो समितिका बार्षिक प्रतिवेदन पेश गरेका थिए ।
त्यस्तै आजकै बैठकले ‘प्रदेश विश्वविद्यालयको स्थापना,सञ्चालन,नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको छ ।