काठमाण्डौ,२० चैच । आज काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको जल तथा माैसम विज्ञान बिभागले जनाएको छ ।
माैसममा क्रमश सुधार हुँदै गएकाले धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको छ । तर, पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।
यस्तै, आज दिउँसोपछि भने पहाडी क्षेत्रको मौसम बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको उनले बताए । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परे पनि अन्य ठाउँमा भने नपर्ने मौसमविद् सापकोटाकाे अनुमान छ ।
यसैबीच, डढेलो नरोकिए फेरि प्रदूषण बढ्ने मौसमविद्ले बताएका छन् । ‘अहिले मौसम सफा हुँदै गएको छ तर, आइतवार, सोमवारदेखि फेरि वायुमण्डल स्थिर रहने देखिएको छ’, मौसमविद् सापकोटाले भने- ‘वायुमण्डल स्थिर रहँदैमा प्रदूषण बढ्छ भन्ने होइन तर डढेलो नियन्त्रण भएन भने चाहिँ हावा नचल्दा प्रदूषण बढ्ने सम्भावना छ ।’
सुख्खापनका कारण देशका धेरैजसो क्षेत्रका वनमा दिनहुँजसो आगलागी हुने गरेको छ । आज पनि देशका विभिन्न २८ क्षेत्रमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । प्रणालीका अनुसार सबैभन्दा धेरै सुर्खेतका २९ ठाउँमा, सल्यानका २२ ठाउँमा र बर्दियाका विभिन्न २१ क्षेत्रमा डढेलो लागेको छ ।
वातावरणविद्हरुले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो भएकाले यसको नियन्त्रणमा जोड दिएका छन् । तर पर्याप्त पानीका स्रोत नहुँदा र आवश्यकता अनुसार दक्ष जनशक्ति नहुँदा डढेलो नियन्त्रणमा चुनौती थपिँदै गएको छ ।