बुटवल,१९ चैत ।
लुम्बिनी प्रदेश सभाको बैठकमा आज दुई मन्त्रीले जवाफ दिने भएका छन् ।
बुधबारदेखि सुरु भएको प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो दिन आज प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित बिषयमा प्रदेश सभा सदस्यहरुले राखेका प्रश्नहरुको जवाफ दिने भएका हुन् ।
त्यस्तै आजकै बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेवल गर्ने र सो विधेयकमाथि सैद्धान्तिक छलफल हुनुका साथै विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि तय भएको छ ।
लुम्बिनी प्रदेश सभाले प्रदेश सरकार र प्रदेश सुभा सदस्यहरुबीच प्रश्नोत्तरको समय छुट्टाएकोले सो समयमा प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई प्रश्न सोध्ने र मुख्यमन्त्री तथा मन्त्रीहरुले जवाफ दिने अभ्यास सुरु गरेको छ ।
आजकै बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्मा,सामाजिक विकास समितिका सभापति दृग नारायण पाण्डेय र कृषि,वन तथा वातावरण समितिका सभापति बिजय बहादुर यादवले आ आफ्नो समितिका बार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश प्रसाद अधिकारीले जानकारी दिए ।