काठमाण्डौ,१८ चैत ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप–प्रत्यारोप भएको छ ।
बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी गरेका छन् भने विपक्षी दलका सांसदहरूले सरकारले गफ गरेर दिन ठेलिरहेको आरोप लगाएका छन् ।
शून्य समयमा बोल्दै सांसद टेकबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदममार्फत विघटन गरेको संसद् अदालतको आदेशपछि पुनस्र्थापना भए पनि सरकारकै कारण संसद्ले बिजनेस नपाएको बताए ।
यस्तै डिला संग्रौलाले सरकारले कोरोना प्रभावित मजदुरको हितमा काम गर्न नसेकेको र देशमा समस्या नै छैन जस्तो गरेर प्रधानमन्त्रीले भाषण गर्दै हिँडेको बताइन् ।
यस्तै दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्रीले नै आफूमाथि गम्भीर खतरा रहेको अभिव्यक्ति दिएकोमा आश्चर्य प्रकट गर्दै संसदमा प्रधानमन्त्री किन नआएको हो ? भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री ओली नैतिक रूपमा कमजोर भएकाले संसदमा आउने आँट नगरेको बडुले बताए ।
एमालेकी सांसद शान्ता चौधरीले भने अनावश्यक विवाद निकालेर प्रधानमन्त्रीलाई संसद् विघटन गर्न बाध्य गराएको आरोप लगाइन् । उनले सरकारले नागरिकको हितमा गरेका काम र विकास निर्माणका कामको पनि समर्थन नभइ विरोध गरिरहेको भन्दै आपत्ति जनाइन् ।
पुनस्र्थापनापछि प्रतिनिधि सभा बैठक फागुन २३ गते बसेको थियो । प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सरकारले बिजनेस नदिएको आरोप लाग्दै आएको छ । संसद्लाई प्रभावकारी बनाउन केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानीसमेत गरेका थिए ।