दलहरु आ आफ्नै रणनीतिमा
बुटवल,१८ चैत ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदैछ ।
सातौं अधिवेशनको पहिलो बैठक भएकोले आज दलहरुको तर्फबाट प्रदेश सभा सदस्यहरुले मन्तव्य राख्ने सम्भावित कार्यसूचि रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्र बिचको एकता सर्वोच्च अदालतले खारेज गरेपछि नेपालको सत्ता समिकरण फेरबदलको प्रयास भैरहेका बेला बस्न लागेको प्रदेश सभाको बैठकलाई महत्वकासाथ हेरिएको छ ।
परिवर्तित राजनीतिक परिवेशमा बस्न लागेको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा दलहरु आ आफ्नै रणनीतिमा रहेका छन् ।
प्रदेश सभामा प्रमुख बिपक्षी दलको रुपमा रहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दीन खाँनले कांग्रेसले ससक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका सचेतक पार्बती पुन गहतराजले पार्टीले बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिइसकेकोले केन्द्रको निर्णय अनुसार अगाडि बढ्ने प्रतिक्रिया दिइन् ।
प्रदेशको सत्ता समिकरणमा प्रभाव पार्ने हैसियतमा रहेको जनता समाजवादी पार्टीकी सांसद कल्पना पाण्डे लम्सालले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अबस्थामा पार्टीले बिपक्षी दलको हैसियतले प्रदेश सभामा यसअघि जस्तो भूमिका निर्वाह गर्दै आएको थियो सोही अनुसारको भूमिका निर्वाह गर्ने बताइन् ।
राष्ट्रिय जनमोर्चाकी प्रदेश सभा सदस्य तारा जिसीले आफ्नो पार्टीले पनि बिपक्षी दलको हिसावले प्रदेश सभामा ससक्त भूमिका निर्वाह गर्ने बताइन् ।
सातौं अधिवेशनको पहिलो बैठकमै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश भई निर्णयार्थ प्रस्तुत गर्ने र सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डेयले ‘प्रदेश विश्वविद्यालयको स्थापना,सञ्चालन,नियमन र व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ पेश गर्ने सम्भावित कार्यसूचि रहेको छ ।
एउटा अधिवेशन अन्त्य भएको ६ महिना भित्रै अर्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था अनुसार ६ महिना पुग्न एक दिन मात्रै बाँकी रहदा प्रदेश सरकारले आजका लागि सातौं अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।