काठमाडौं,१७ चैत । नेकपा एमालेभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । ओली पक्षले नेपाल पक्षका नेताहरुलाई निलम्बनको कारवाही थालेपछि माधव पक्षले आगामी रणनीति तय गर्न आफ्नो पक्षको भेला गरेको छ । फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको एमालेमा अध्यक्ष केपी शर्मा ओलीले त्यसयता गरेका निर्णय र काम कारवाहीको विरोधमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि जारी राखेको छ ।
एमालेको माधव नेपाल पक्षले ओलीविरुद्ध सशक्त प्रतिकारको नीति लिने बताएको छ । यसका लागि नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ ।
माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले ओलीले एमालेसँगै लोकतन्त्र पनि सिध्याउँने बताएकी छन् ।
पार्टीहित विपरीत गएको भन्दै ओली पक्षले माधव नेपालसहितका नेतालाई स्पष्टीकरण र कारवाहीको सिलसिला चलाइरहेको छ । यसै क्रममा अध्यक्ष ओलीले नेता नेपाल र उपाध्यक्ष समेत रहेका भीम रावललाई पार्टी सदस्यबाटै ६ महिनाका लागि निलम्बन गरेका छन् ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई मान्यता नदिएसँगै पुर्ववत अवस्थामा फर्किएको एमालेमा अध्यक्ष केपी शर्मा ओलीले त्यसयता गरेका निर्णय र काम कारवाहीको विरोधमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीमा समानान्तर गतिविधि जारी राखेको हो ।