काठमाण्डाै,१७ चैत । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेकाे स्पष्टीकरणको जवाफ बरिस्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलकै शैलीमा दिएका छन् ।
११ पृष्ठको स्पष्टीकरण जवाफ दिँदै भुसालले पार्टीको अध्यक्षजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले पार्टीको वैधानिक व्यवस्थालाई भत्काउने र पार्टीलाई अराजकतातर्फ धकेल्ने काममा किन लाग्नु भएको हो ? भनी प्रतिप्रश्न गरेेका छन् ।
ओलीकै कारण पार्टी वैचारिक, सैद्धान्तिक, राजनीतिक र सांग ठनिक हिसाबले विसर्जनतर्फ जान थालेको भन्दै भुसालले पार्टीलाई बन्धक बनाएर तपाईँले के पाउनुभयो ? भनि प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओली एमालेको अध्यक्ष भएपछि पार्टीको विचार, सिद्धान्त, राजनीति तथा संगठनात्मक सिद्धान्तको मूल्य हराउँदै गएको बताउदै भुसालले पार्टी र आन्दोलनका विरुद्ध नजान आग्रह गरेका छन् ।
भुसालले पार्टीलाई जोगाउँदै नवौँ महाधिवेशनका निर्णयका आधारमा पुनर्गठित गर्नुपर्नेमा जोड दिएका छन् ।
स्पष्टीकरण पत्रमा भनिएकाे छ, ‘पार्टी कार्यालयबाट प्रेषित औपचारिक पत्रको भाषा, त्यसको गूढार्थ र तपाईँले अपनाएको प्रक्रियाले तपाईँ के गर्न खोज्दै हुनुहुन्छ भन्ने स्पष्ट छ । नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैका विरुद्ध सुनियाजित रूपले लक्ष्यित तथाकथित न्यायिक प्रक्रियालाई कङ्गारु अदालत भनिन्छ । तपाईँले मागेको तथाकथित ‘स्पष्टीकरणसहित लिखित जवाफ’ ले तपाईँ त्यही कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ । शत्रु देशको नागरिकलाई पठाइएको जस्तो तपाईँको पत्रको जवाफ लेखिरहनु आवश्यक थिएन अर्थात् तपाईँले पठाउनुभएको मिथ्या पत्रका बारेमा स्पष्टीकरण दिनुपर्ने त हुँदै होइन, कुनै पनि उत्तरसमेत लेख्न जरुरी छैन तर तपाईँले लगाउनुभएका आरोपहरू कति पूर्वाग्रही छन् र तपाईँका दाबीहरू कति झुटा छन् भन्ने कुरा पार्टी पङ्तिलाई जानकारी गराउनुपर्ने भएकोले यो पत्र लेख्दै छु ।’
नेता भुसालले ओलीलाई सच्चिन पनि पत्रमार्फत आग्रह गरेका छन् । उनले भनेका छन् ‘मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोली वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।’