ओलीको कारबाही देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रति तावेदारी ः भीम रावल
काठमाडौं,१६ चैत ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको प्रतिक्रिया दिएका छन् ।
ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्थामा यसरी कारवाही गर्न नमिल्ने उनले बताए ।
अध्यक्ष ओलीले सोमबार माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि साधारण सदस्यताबाट समेत निलम्वन गर्ने निर्णय गरेलगत्तै नेता नेपालले उक्त प्रतिक्रिया दिएका हुन् । बरिष्ठ नेता नेपालले भने, ‘केपी ओली अहिले नेकपा एमालेको अध्यक्ष पनि होइन । उहाँ एमाले केन्द्रीय कमिटीको अध्यक्ष होइन । उहाँले एमालेको केन्द्रीय कमिटी भंग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम गर्ने अधिकार उहाँसँग छैन ।’
ओलीले निलम्वन गरेको पत्र आफूले नपाएको बताउँदै नेता नेपालले अब देशव्यापीरुपमा ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गरे । नेपालले अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने बताए ।
अब देशव्यापीरुपमा संगठन झनै सशक्त र प्रभावकारी भएर जाने भन्दै नेता नेपालले केपी ओलीको चुनौतीको सामना गर्ने दृढता व्यक्त गरे । उनले सबै कार्यकर्तालाई दृढताका साथ मैदानमा उत्रन समेत आह्वान गरे ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूमाथिको कारबाहीलाई देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारीको संज्ञा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा एकपछि अर्को गरेको गलत कामको विरोध गर्दा कारबाही गरिएको रावलको दाबि छ ।
ओलीले सोमबार पत्र पठाउँदै एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए ।
सामाजिक सञ्जालमार्फत रावलले ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्ने जानकारी दिए ।
रावलको प्रतिक्रिया
केपी शर्मा ओलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैँले हस्ताक्षर गरेको कम्युनिष्ट पार्टी बीचको एकतामाथि प्रहार गर्नुभयो। दोस्रो चरणमा नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाउँदै एवं सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनु भयो र तेस्रो चरणमा पार्टी विधान कुल्चदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारजना नेतहरूलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो ।
यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारी हो । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु ।