Share this News on Social Networking Pages

काठमाडौं,१६ चैत ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । पार्टीको विधानविपरीत चलेको भन्दै नेता नेपाल र रावललाई कारबाही गरेको हो ।

पार्टीको चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन गरेको छ ।
नेता नेपाल र रावललाई पार्टीबाट निलम्बन गरिएको पत्रसमेत पठाइसकेको एमालेले जनाएको छ ।

अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाएका थिए ।

चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए ।