Share this News on Social Networking Pages

-सुशीला सुवेदी पाठक

सहयोगी र मिलनसार हुनुहुन्थ्यो राधा दिदी। गाउँघरमा कसैलाई केही सहयोग गर्नुपरे हरदम तयार। हरेक काममा निपूर्ण। कसैको घरमा झगडा भयो राधा दिदी चाहिन्थ्यो मिलाउन। सबैसँग परिचित हुनुन्थ्यो दिदी।

दश कक्षामा पढ्दापढ्दै बुबाआमाले विवाह गरिदिनु भयो। छोराछोरीको लालनपालन श्रीमान्, सासू ससुरा, घरव्यवहारले दिदीलाई पढ्ने फुर्सद नै भएन।

परिवारको जिम्मेवारीसँगै आर्थिक अभावले थिचेपछि वैदेशिक रोजगारीका लागि जापान जानुभयो। केही वर्षपछि फर्केर समाजसेवामा सक्रिय भएर लाग्नुभयो।

विदेशमा सिकेको सीपलाई सदुपयोग गर्दै जापानिज भाषा सिकाउने कक्षा खोल्ने तयारी गर्नुभएको थियो तर क्षमता भएपनि शैक्षिक योग्यता बाधक बनिदियो।

एसएलसी नगरेकोले भाषा कक्षा संचालन गर्न स्वीकृति मिलेन। वैदेशिक रोजगारीमा गएर समस्यामा परेकालाई उद्धार गर्ने संस्था खोल्ने विचार गरेको शैक्षिक योग्यता नभएर अर्काको नाममा दर्ता गराउनु पर्यो।

मैले दिदीलाई सुझाव दिएँ, ‘अहिले त प्राइभेट एसएलसी दिन मिल्छ दिदी तपाई तयारी गर्नुस्।’

‘म पास गर्न सकूँला र बहिनी?’ दिदीले शंका व्यक्त गर्दै भन्नुभयो, ‘धेरै भयो नपढेको। पढ्ने बानी हरायो।’

मैले दिदीलाई हौसला दिँदै भनेँ, ‘सक्नुहुन्छ दिदी। केही मेहनत गर्नुस्। तपाईंमा क्षमता छ। शैक्षिक योग्यतालाई बाधक बन्न दिनु हुँदैन। म सहयोग गर्छु दिदी।’

दिदीले खुसी हुँदै भन्नुभयो, ‘हुन्छ म तयारी गर्छु। एसएलसीको फारम खुलेपछि मलाई जानकारी गराउनु है त।’

केही समयपछि एसएलसीको फारम खुलेको जानकारी दिँदै म दिदीलाई भेट्न गएँ, ‘ल दिदी फर्म खुलेको छ, जाउँ भर्न।’

दिदीले भन्नुभयो, ‘भयो बहिनी, अब मैले बुढेसकालमा पढेर के गर्नू? फेरि मैले शैक्षिक योग्यता भए पनि हुने, नभए पनि हुने काम गर्न लागेको छु नि।’

मैले अचम्म मान्दै सोधेँ, ‘के काम हो दिदी त्यस्तो शैक्षिक योग्यता नभएपनि गर्न सकिने?’

दिदीले उत्साहित हुँदै भन्नुभयो, ‘पार्टीले टिकट दियो बहिनी मलाई। यो चुनावमा म जनप्रतिनिधि भएर उठ्दै छु नि।’
साहित्यपाटिबाट