काठमाण्डौ,१२ चैत ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमण रोकथामका लागि तत्काल लकडाउन र सीमा नाका बन्द गर्ने योजना नभएको बताएका छन ।
कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने मन्त्री पौडेलले बताउनुभएको हो ।
बिहीवार न्यूज एजेन्सी नेपाललाई अन्तर्वार्ता दिदै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमा नाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन् । उनले भने ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ ।
कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ भन्ने सरकारको सोच हो । अर्कोतर्फ आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित र सुरु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुरु पनि गर्छाैँ, नियमित पनि गर्छौँ र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ । अहिले सरकारले सीमा नाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’
अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि जानकारी दिए । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको उनले बताए । कोभिडपछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने अर्थमन्त्री पौडेलको भनाइ छ ।
राष्ट्रिय प्राथमिकताका विषयलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।