Share this News on Social Networking Pages

भारतीयले नेपाली भूभाग कब्जा गर्दा ओलीको मौनता रहस्यमय देखियो
काठमाडौं,११ चैच ।
नेकपा एमालेको उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सत्ता र कुर्सी जोगाउनका लागि नेपालको अस्मिताविपरीत साँठगाँठ गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनलेे नेपालको अस्मितासँग गाँसिएको नागरिकतालगायतका दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्नमा ओली तल्लीन रहेको आरोप लगाएका हुन् । उनले सबै देशभक्त नेपालीहरु ओलीको कदमविरुद्ध सचेत हुनुपर्ने बताएका छन् ।
उनले लेखेको छन्, ‘प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकतालगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं !’

ओलीले आफ्नो सत्ता जोगाउनका लागि जनता समाजवादी पार्टी जसपासँग विभिन्न मुद्दामा मुछिएका व्यक्तिहरुको रिहा, संविधान संशोधनलगायतको विषयमा सहमतिको प्रयास थालेपछि नेता रावलले आक्रोश पोखेका छन् ।

यस्तै, नेता रावलले मंगलबार साँझ दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेको बेलामा ओली बालुवाटारमा पदको खेल र झेलमा मग्न भएको लेखेका छन् ।

सत्ता र कुर्सीका सामु ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नभएको देखिएको टिप्पणी गरेका छन्। भारतिय गतिविधि विरुद्ध ओलीको रहस्यमय मौनता रहेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रम केपी ओली बालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ । सत्ता र कुर्सीका सामु प्रम केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो–रहस्यमय मौनता !’