काठमाडौं,१० चैत ।
नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने भएको छ ।
कानुन व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको हो । मङ्गलबार स्थायी समिति बैठकअघि माओवादीले कानुन व्यवसायीहरूसँग छलफल गरेको थियो ।
छलफलमा कानुन व्यवसायीहरु शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान लगायतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भएको र मागदाबी नै नगरिएको विषयमा फैसला आएकोले ६० दिनभित्र पुनरावलोकनमा जान सुझाव दिएका हुन् ।
‘नेकपा विवादमा सर्वोच्चले गरेको फैसला राजनीतिक प्रकृतिको भएकाले पुनरावलोकनमा जाने निर्णय भएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
फैसला आएको ६० दिनभित्र पुनरावलोकनमा जानुपर्ने कानुनी व्यवस्था भएकोले सोही अनुसार पुनरावलोकनमा जाने उनले बताए ।
बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै छलफल नभएको पनि गुरुङले जानकारी दिए ।