बुटवल,८ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभागका फार्मेसी अधिकृतसहित तीन जनाबिरुद्ध मुद्दा दायर गरेको छ ।

मुद्धा दायर हुनेमा औषधि व्यवस्था विभागको शाखा कार्यालय, विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदी र रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरीका दुईजना अधिकृत रहेका छन् ।

घुससहित रंगेहात पक्राउ परेका उनिहरु बिरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरको हो ।

सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस वापत लिएको दुईलाख रुपैयाँसहित विभागका अधिकृत सुवेदीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

उनले सेवाग्राही बिरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ ।
त्यस्तै सशस्त्र प्रहरी वल वेश क्याम्प, गैडहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीबिरुद्ध पनि मुद्दा दायर भएको छ ।

उनीहरूले सेवाग्राहीको फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको बुटवलबाट गएको टोलीले ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।