अर्घाखाँची,८ चैत ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेंसीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घाइते भएका तीन जनामध्ये गम्भीर घाइते भएका सन्धिखर्क–९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीया सीता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।
घाइतेमध्ये १८ वर्षीय विजय खत्रीको अवस्था सामान्य रहेको र उनको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । जीपमा साढे तीन वर्षको बच्चासहित ६ जना रहेकोमा तीन जना जीपबाट हाम फालेका थिए ।
उनीहरुको अवस्था भने सामान्य रहेको जनाइएको छ ।