’पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै केपी ओली हुन्’
काठमाडौं,७ चैत ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरूले गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एमाले नेपाल–खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ३ वर्षदेखि पार्टीमा खिया लागेको र आफूहरूले खिया फाल्ने प्रयास गरिरहेको बताएका हुन् ।
पूर्ववतरुपमा रहेका पार्टीका सवै संरचनाहरुको बैठक, भेलालगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरी विचारलाई सफा बनाउने काम भइरहेको उनले स्पष्ट पारे ।
उनले पार्टी एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वौच्च अदालतले फैसला गर्नु भनेको ’जन्मेको बच्चा मान्दैनौँ फेरि गर्भमा लैजाऊ’ भनेजस्तै भएको टिप्पणी गरे ।
फैसला गलत भएतापनि असहमति भएर पनि सर्वोच्च अदालतको फैसला भएकाले मान्दैनौ भन्न नमिल्ने भन्दै उनले भने–‘नाम मिलेन नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुहोस् भन्न सकिन्थ्यो । नाम फेर्न पो भन्ने हो एकताको कुरै मान्दैनौ भन्न्ने । त्यो फैसलामा त बहस गर्दै गरौला तर हामी निर्णय मान्न बाध्य छौँ ।’
पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उनले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत संरचनालाई नै अस्तित्वमा ल्याऊँ भन्ने आफूहरुको प्रस्ताव ओलीले नमानेको दाबी गरे ।
मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उनले किसान संघ, उत्पिडीत समुदायलगायतको राष्ट्रियभेला गरी पुनर्जीवन र पुनर्ताजगी दिने बताए । उनले लोकतन्त्रको पक्ष र प्रतिगमनकारीविरुद्धको आन्दोलनमा आफूहरू एकताबद्ध भएर अघि बढ्ने बताए । पार्टीको सुदृढिकरण र विस्तारका लागि धेरैभन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीको अवस्था देखेर झोक्राएर नबस्न उनले युवाहरुलाई निर्देशन दिए । उनले नयाँ उत्साह र जोशका वैचारिक अभियानमा पार्टी लागेको भन्दै यो अभियानले कम्युनिष्ट विरोधीलाई परास्त गर्ने दाबी गरे ।