Share this News on Social Networking Pages

काठमाण्डौ,४ चैत ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले नेकपा एमालेभित्रको विवादको जड अध्यक्ष केपी शर्मा ओली भएको दाबी गरेका छन् ।

बुधवार आफ्नो समूहले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा एमालेभित्रको विवादको जड अध्यक्ष केपी शर्मा ओली भएको दाबी गरेका हुन् ।

उनले पार्टीलाई ध्वंस गर्नका लागि नभइ एकताबद्ध बनाउन राष्ट्रिय भेला गरिएकोे बताए ।

केपी ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला नागरिकको बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भए पनि जबजको हिमायतीको रूपमा प्रस्तुत गरिरहेको उनले बताए । ओलीले मदन भण्डारीको विरासत बोकेको भनी नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

सबै समस्याको जरो भनेको केपी ओलीमा भएको अहङ्कार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहना भएको बताए ।

नेता नेपालले प्रधानमन्त्री ओलीले विदेशीको सेवा मात्रै गरेको आरोप पनि लगाए । ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठान्ने गरेको पनि उनको भनाइ छ ।

ओलीमा नेकपा एमालेको नेतृत्वमा आएपछि र माओवादीसँग एकीकरण भएपछि पनि सुरु देखि नै गुटगत प्रवृत्ति मात्रै भएको नेता नेपालले बताए ।

प्रधानमन्त्री ओलीले आधा–आधा समय सरकार चलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर सहमतिको उल्लंघन गरेको नेता नेपालको भनाइ छ ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पूर्ववत् संगठनात्मक संरचना र वैचारिक, राजनीतिक मान्यता अनुरूप चलाउनुपर्नेमा नेता नेपालको जोड छ ।